आशा भोसलेलाई लाइभ सुन्न १० हजारको टिकट

काठमाडौं । चर्चित भारतीय गायिका आशा भोसलेले १२ पुसमा काठमाडौंमा सांगीतिक प्रस्तुती दिँदैछिन् । साधना कलाकेन्द्रले आयोजना गर्ने ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ कार्यक्रममा भोसलेले वरिष्ठ संगीतकार तथा सर्जक रञ्जित गजमेरको संगीतमा १२ पुसमा केही सांगीतिक प्रस्तुति दिनेछिन् ।

कार्यक्रमका लागि गायिका भोसले ९ पुसमै काठमाडौं आइसकेकी छिन्। भोसलेलाई कलाकेन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकीसहित भव्य स्वागत गरेको थियो।

करीब ६० भन्दा बढी नेपाली गीतमा स्वर दिएकी भोसले यतिबेला ‘रिहर्सल’ मा व्यस्त छिन्। सांगीतिक साँझमा भोसलेका साथमा अन्य ३३ नेपाली संगीतकर्मीहरूले पनि सांगीतिक प्रस्तुती दिनेछन्।

कार्यक्रम होटेल सोल्टी क्राउन प्लाजाको हलमा हुँदैछ। ६ सय दर्शक आउने अनुमान गरिएको कार्यक्रममा सहभागिताका लागि प्रतिव्यक्ति १० हजार रुपैयाँ टिकट तोकिएको छ। आयोजक संस्था साधना कलाकेन्द्रका कार्यक्रम संयोजक आशा गौतमले महंगो होटलमा कार्यक्रमको आयोजना गरिएकाले टिकट महंगो हुन गएको बताइन् ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले भनिन्, “आशा भोसले ज्यू रिहर्सल गरिराख्नु भएको छ । अन्य कलाकारले पनि तयारी गरिरहेका छन् । सबै तयारी अन्तिम चरणमा पुगेको छ ।”

कार्यक्रमको टिकट किन यति महंगो भएको भन्ने प्रश्नमा उनले भनिन्, “कार्यक्रम के टुँडिखेलमा आयोजना गर्न लागिएको हो र ? कलाकारहरूको पारिश्रमिकदेखि कार्यक्रम स्थलको खर्च, डिनर सबै गर्दा निकै महंगो पर्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार