काठमाडौँ, “उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि” र “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मुल नारासहित गोकार्णेश्वर नगरपालिका वडा नं. ८ स्थित भोजपुर शेर्पा समाज, किदुग, अत्तरखेलमा ‘वारिस्ता (कफी बनाउने तालिम)’ सुरु गरिएको छ। महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा ४० जना महिलाहरूको सहभागिता रहेको छ।
१५ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन संघीय संसद् तथा अर्थ समितिका अध्यक्ष माननीय सन्तोष चालिसेले गर्नुभएको थियो भने कार्यक्रमको सभाध्यक्षता ढुङ्गेधारा आदर्श आमा समूह अध्यक्ष तथा समाजसेवी मन्जु पुन मगर ले गर्नुभएको थियो।

उद्घाटन समारोहमा बोल्दै सांसद चालिसेले भने, “यस्ता व्यावसायिक तालिमहरूले महिलामा आत्मनिर्भरता, स्वरोजगार र नेतृत्व विकासमा उल्लेखनीय योगदान पुर्याउँछ। यसलाई अन्य वडाहरूमा पनि विस्तार गर्न आवश्यक छ।” सभाध्यक्ष मगरले महिलाहरूको क्षमता अभिवृद्धिमा ढुङ्गेधारा आदर्श आमा समूहको अग्रसरता सराहनीय रहेको बताइन्।
तालिम समता मल्टि टेक्निकल इन्स्टिच्युट प्रा. लि. को प्राविधिक सहकार्यमा ढुङ्गेधारा आदर्श आमा समूह द्वारा सञ्चालन गरिएको हो। कार्यक्रमको आयोजना बागमती प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, काठमाडौं को सहयोगमा गरिएको हो।
तालिममा सहभागी महिलाहरूलाई कफी बनाउने आधुनिक प्रविधि, ग्राहक सेवा, व्यवसाय सञ्चालन र गुणस्तर नियमनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ। आयोजक संस्थाको विश्वास अनुसार, तालिमपछि महिलाहरूले आफ्नै क्याफे सञ्चालन गर्ने, रोजगार सिर्जना गर्ने र स्थानीय स्तरमा उत्पादन तथा सेवाको पहुँच विस्तार गर्न सक्नेछन्। १५ दिन सम्म संचालन हुने तालिमको सहजीकरण मितिनी क्याफेका प्रबन्ध निर्देशक दाबुटी शेर्पाले गर्ने छ ।

यस तालिमले नारी सशक्तिकरण र उद्यमशीलता प्रवर्द्धनको दिशामा महत्त्वपूर्ण कदम थपेको आयोजकको धारणा छ।







