नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले स्थानीय तह र राष्ट्रिय निकुञ्जहरूले हेलिकोप्टर उडानमा रोक लगाए कारबाही गर्ने चेतावनी दिनुभएको छ । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गरिसकेपछि उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
गत मंसिरमा सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यावसायिक हेलिकोप्टर उडानमा रोक लगाएको थियो । सोही विषय सम्बन्धित रहेर उठाइएको प्रश्नको जवाफ दिँदै महानिर्देशक अधिकारीले नेपालमा हवाई उडानको अनुमति दिने वा नदिने विषय नागरिक उड्डयन प्राधिकरणले मात्रै दिनसक्ने बताउँनुभयो । नियम विपरीत र कार्य क्षेत्र विपरीत काम भए नेपाल नागरिक उड्डयन प्राधिकरण २०५३ र गैरसैनिक हवाई उडान ऐन, २०१५ बमोजिम राज्यका कर्मचारी, जनताले निर्वाचित गरेका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो । महानिर्देशक अधिकारीले हवाई उडान रोक्छु भन्ने शब्द पनि प्राधिकरणले सुन्न नसक्ने बताउनुभयो ।
सगरमाथा क्षेत्रमा व्यवसायिक हेलीकप्टर उडानमा प्रतिबन्ध लगाए स्थानीय तह र निकुञ्जलाई कारबाही गर्ने
