सोलुखुम्बु : नेपालकै व्यस्त मध्येको एक लुक्ला विमानस्थलको हवाई उडान ६÷७ वटामा सिमित बनेको छ । एकै दिन दर्जनौं उडान तथा अवतरण हुने तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा पर्यटन सिजन सकिएसंगै उडान संख्या सिमित बनेकोे हो । नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख पजनेश राजभण्डारीका अनुसार पर्यटक सिजन सकिएर चिसो सुरु भएसँगै उडान संख्या घटेको हो । यात्रु नहुँदा विमान कम्पनीहरुले उडान तालिका नै घटाएको छ भने भएका उडानमा समेत यात्रु नहुँदा कार्गो बोक्नुपर्ने बाध्यता रहेको विमान कम्पनीहरुले जनाएको छ । अहिले लुक्लामा समिट एयर, सिता र तारा एयरको २÷२ गरी दैनिक ६ वटा उडान गरिरहेको प्राधिकरणले जनाएको छ ।
उडान कम भएसँगै प्राधिकरणका कर्मचारीहरु समेत यतिखेर फुर्सदिला बनेका छन् । सिजनमा उडानको चाप अत्याधिक हुँदा बिमास्थलका कर्मचारीहरुले खाने फुर्सद समेत पाउँदैन थिए । उपत्यका बाहिरका विमानस्थल मध्ये लुक्ला, पोखरा, सिमिकोट र नेपालगञ्जलाई व्यस्त विमानस्थलहरुको रुपमा लिइन्छ । चसोका कारण खुम्बुवासीहरु अन्यत्र जाँदा सो क्षेत्रमा मानिसको चहलपहल समेत नै न्यून रहेको रहेको छ । सगरमाथा क्षेत्रमा पर्ने खुम्बुमा बर्षको २ सिजन भदौ अन्तिमबाट मंसिर मध्यसम्म र चैतबाट असार पहिलो साता सम्मलाई मुख्य पर्यटकिय सिजन मानिन्छ ।