थुलुङ दुधकोशी गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर एकीकृत घुम्ती सेवा सुरु गरेको छ । पांँच दिनसम्म सञ्चालन हुने सो एकीकृत घुम्ती शिबिरको मुक्लीमा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष अशिम राईले सोमबार उद्घाटन गर्नुभएको हो।
हरेक वडामा सञ्चालन हुने घुम्ती शिविरमा योजना सम्झौता,जेष्ठ नागरिक परिचयपत्र वितरण, कृषि तथा पशु सम्बन्धि सेवा र पाठेघरको मुखको क्यान्सर पहिचान र ब्लड ग्रुप पहिचान गरिने गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो। शिबिरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राईले स्थानीय सरकारको दायित्व र अभिभारा जनतामाझ सहज सेवा पु¥याउनु रहेको बताउँदै एकीकृत घुम्ती शिविरलाई प्रभावकारी रूपमा सञ्चालन गर्नसमेत कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो।
घुम्ती शिबिरको उद्घाटनपछि ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा अध्यक्ष राईकै नेतृत्वमा प्रभातफेरी आयोजना गरिएको थियो। प्रभातफेरीमा उपाध्यक्ष सबिता राई,प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राई,जिल्ला सरकारी वकील कार्यालयका प्रमुख श्री वुद्धिलाल श्रेष्ठ, वडाध्यक्षहरु,कार्यपालिका सदस्य,, नेपाल प्रहरी,विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायत स्थानीयको सहभागीता रहेको थियो।