थुलुङ दुधकोशी ७ र ८ मा राती ९ बजेपछि होटलपसल सञ्चालन गर्न नपाइने

सोलुखुम्बु :  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ र ८ मा राती ९ बजेपछि होटलपसल सञ्चालन गर्न नपाइने भएको छ । दुबै वडाको बुधबार सम्पन्न संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

राती अबेरसम्म होटल सञ्चालन गर्दा मदिरापान सेवन गर्ने र गाउँघरमा होहल्ला गरि शान्ति सुव्यवस्थामा समेत असर पार्ने कार्य बृद्धि भएको गुनासो बढेपछि होटल सञ्चालन सम्बन्धि समय निर्धारण गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रचलित कानुन विपरितका कार्यहरु दिनप्रतिदिन बढ्दै गएको भन्ने जनगुनासो सम्बन्धि सबैपक्षलाई सचेत गराउने र त्यसको अनुगमन तथा उक्त कार्य न्यूनीकरणका लागि स्वयम्सेवी युवा तस्ता गठन गरि संयुक्त रुपमा परिचालन गर्ने समेत निर्णय गरिएको हो ।

यस्तै अनाआवश्यक रुपमा होहल्ला गर्ने, बाइकमा चर्को ध्वनी निकाली नियम विपरित सवारी सञ्चालन गर्नेहरुको निगरानी गरि कानुन अनुसार कार्वाहीका लागि सहयोग गर्ने पनि निर्णय गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष राजेश किराँतीले बताउनुभयो ।

उहाँका अनुसार शान्ति सुरक्षाका लागि सिभिलका प्रहरीलाई समेत रातको सयममा परिचालनका लागि अनुरोध गर्ने र वडाले गठन गरेको स्वयम्सेवी युवा ंदस्ता समेत सहित निर्वाचित जनप्रतिनिधिले समेत सहयोग गर्ने निर्णय भएको छ ।

उक्त टोली २४सै घण्टा परिचालित हुने भएकाले ढुक्क भएर बस्न वडाले सबैलाई आग्रह गरेको छ । यस्तै यस वर्षको तिहारमा राति १० बजे भन्दा बढी देउसी भैलो खेल्न नपाइने समेत उक्त बैठकले निर्णय गरेको छ । सोही बैठकले दुवै वडामा पर्ने सडक खण्डलाई व्यवस्थित बनाउनको लागि १० दिन भित्र मर्मत तथा सरसफाईको कार्य गर्नको लागि महाकुलुङ र एपेक्स हाइड्रोपावर कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार