खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

सोलुखुम्बु : खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान प्रभावित बनेको छ । नागरिक उड्ययान प्राधिकरण लुक्लाले दिएको जानकारी अनुसार ५ दिनदेखि आजसम्म करिब दुई सय भन्दा बढी उडान स्थगित भएका छन् । पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिहेका छन ।

लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने प्राधिकरणले जनाएको छ । अवतरणका लागि पाइलटले केही टाढा देखिनै विमानस्थल देख्नपर्छ । तर लुक्लाको विमनस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको लुक्ला विमानस्थल प्रमुख उमेश चन्द्र पन्थीले जानकारी दिनुभयो ।

सगरमाथाको आधार शिविरबाट फर्कदा पनि पर्यटकले खराब मौसमका कारण सास्ती ब्यहोर्नु परेको प्रमुख पन्थीले बताउनुभयो । निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि चिन्तित बनिरहेका छन् । काठमाडौँबाट लुक्ला जाने पर्यटकलाई विभिन्न कम्पनीले काठमाडौँदेखि मन्थलीसम्म सडकमार्गबाट ल्याएपछि लुक्लासम्म जहाज तथा हेलिकप्टरमा पठाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार