खुम्बु क्षेत्र पर्यटकले भरिभराउ, निकुञ्जका कर्मचारीलाई भ्याइनभ्याइ

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले भरिन थालेको छ । सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै त्यस क्षेत्रका व्यवसायीहरु उत्साहित बनेका छन् । यतिबेला खुम्बुक्षेत्र पुग्ने पर्यटक दिनहुँ बढिरहेका छन् । ट्रेकिङको सिजन सुरु भएसँगै पर्यटन व्यवसायीहरु पनि लुक्ला पुगेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायीहरु पर्यटकको स्वागत सत्कारमा व्यस्त बनेका छन । नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाका अनु्सार होटल व्यवसायी निक्कै व्यस्त छन् ।

केहि दिन यता मौसममा सुधार भएसँगै पर्यटकको लर्को लाग्न थालेको हो । लुक्लामा अहिले दैनिक ५० वटा भन्दा बढी उडान हुने नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । पर्यटकको चाप बढेसँगै निकुञ्जको चेक पोष्टका कर्मचारीहरु ब्यस्त बनेका छन् । उनीहरु पर्यटकको इन्ट्रि गर्न तथा राजस्व संकलन गर्नमा भ्याइनभ्याइ बनेको निकुञ्जले जनाएको छ । अहिले दैनिक करिब ३ सय जना सम्म पर्यटकहरु भ्रमणका लागि लुक्लाबाट उकालो लाग्ने गरेको छन् । भ्रमणमा आउने पर्यटक मध्ये विदेशी बढी रहेको निकुञ्जको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार