सोलुखुम्बु : सोलुखुम्बुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा अनुगमन सुरु गरिएको हो । आज जिल्ला प्रशासन कार्यालयको अगाडि देखी तिन कुने सम्मका खाद्यान्न, तरकारी लगायत फलफूल पसलहरूको अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद नाघेका केही अखाद्य वस्तुहरूको जफत गरिएको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे – खत्री ) का अनुसार १५ वटा पसलहरूबाट ८ हजार ८ सय ५० रुपैयाँ बराबरको म्याद नाघेका अखाद्य सामाग्री बिभिन्न पसलहरूबाट जफत गरिएको छ
जफत गरिएको सामाग्रीहरू भोलि नष्ट गरिने उहाँले बताउनु भएको छ । अनुगमनको क्रममा म्याद गुज्रेका कोक लगायतका पय पदार्थ, मसला, चक्लेट, बिस्कुट, इजाजत नलिइ बिक्रीका लागी राखिएको मदिरा जफत गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई रहेको छ । सदरमुकाम सल्लेरीका केही पसलहरूको अनुगमन गरिएको र बाकी रहेका केही पसलहरूको केही दिनमा गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भएको छ ।
अनुगमनकै क्रममा पसलहरूमा मूल्य सुचि राखिएको नराखिएको समेत निरीक्षण गरिएको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाले बताउनु भएको छ । मूल्य सुचि नराखेको पसलहरूलाई भोलि देखी नै मूल्य सुचि राख्न निर्देशन दिइएको उहाँले जानकारी दिनु भएको छ ।म्याद गुज्रेका सामाग्री बिक्री गर्ने, मूल्य सुचि नराख्ने र दर्ता बिना सञ्चालनमा रहेको पसलका सञ्चालकहरू लाई अन्तरक्रियाका लागी भोलि जिल्ला प्रशासन कार्यालय बोलाइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।