भू–उपयोग क्षेत्र वर्गीकरण गर्ने पालिका थुलुङ दुधकोशी पहिलो

सोलुखुम्बु : जिल्लाको थुलुङ गाउँपालिकाभित्र भू–उपयोग क्षेत्र वर्गीकरणको काम सकेको छ । पालिका स्तरीय समितिले वडातहबाट प्राप्त सुझाव तथा कार्यविधिको अधिनमा रहि निर्माण गरेको योजनालाई कार्यपालिका बैठकबाट अनुमोदन गरिएको हो ।

आज सम्पन्न कार्यपालिका बैठकले उक्त योजना अनुमोदन गर्दै ७ दिने सुझाव संकलनको लागि सार्वजनिक सूचना प्रकाशन तथा प्रशारण गर्ने निर्णय गरिएको पालिकाले जनाएको छ । यो सङ्गै भु-उपयोग क्षेत्र वर्गीकरणको काम सक्ने थुलुङ दुधकोशी जिल्लामानै पहिलो पालिका बनेको छ ।

यस्तै गाउँपालिकाभित्र नक्सा पास नगरि घर÷भवन निर्माण गर्न नपाईने निति ल्याइएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आज सम्पन्न कार्यपालिका बैठकले यस अघिका पारित भएको नक्सा पास मापदण्ड लागु गरि कार्यान्वयन गर्ने निर्णय गरेको हो । निर्णय अघि निर्माण भएका घर तथा भवनहरुलाई ६ महिना भित्र सूचीकृत गरिसक्ने निर्णय गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
यस्तै चालू आर्थिक वर्षबाट लागत सहभागिताको आधारमा मात्रै योजना कार्यन्वयन गर्ने निर्णय गरिएको छ । योजना कार्यान्वयन गर्ने समितिले योजना सम्झौता गर्दा कुल लागतको १० प्रतिशत नगद अनिवार्य दाखिला गर्नुपर्ने प्रावधान तय गरेको गाउँपालिकाले जनाएको छ । यस अघि २० प्रतिशत जनश्रमदान गर्नुपर्ने कार्य थियो भने अहिले कुल लागतको १० प्रतिशत नगद जम्मा गर्नुपर्ने भएको छ ।

यसैबीच, अपाङ्गता भएका व्यक्तिको हक हित संरक्षण सम्बन्धी गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिति गठन गरिएको छ । यस्तै गाउँपालिकाबाट बाहिर निकाशी हुने विभिन्न फलफुल¸ जडीबुटी¸ कृषि तथा पशुजन्य लगायतका सम्पूर्ण थोकवस्तुका लागि निकाशी कर लागू गर्ने पनि निर्णय गरिएको छ । जसको लागि वडा नं. ६ का वडा अध्यक्ष महेन्द्रराज राईको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरिएको छ । समितिको प्रतिवेदनका आधारमा कर निर्धारण गरि लागु गरिने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार