डोटी\बझाङ : डोटी केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घर भत्किएका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा पुरिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयाे । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित ६ जनाको मृत्यु भएको बताउँनुभयाे ।
पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको हो ।भूकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताउँनुभयाे ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको बताइएको छ। स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांशका घरमा क्षति पुगेको छ। भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा ठाउँ–ठाउँमा पहिरो गएको दलबहादुर देउवाले बताउँनुभयाे ।
यता बझाङमा पनि भूकम्पका कारण यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिकाका– ५ कि लक्ष्मीदेवी जोशीले बताउँनुभयाे । गाउँभरिका मानिस आगो बालेर बाहिर बसेको उहाँले जानकारी दिनुभयाे । यहाँ पनि पुराना घरहरू भत्किएको बताइएको छ ।
जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौँ मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन् । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महशुस भएको छ।