पाल्पा : जिल्लामा आइतबार भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु छ । बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरकाे बस तानसेन रिडी सडकखण्डको रिब्दीकोट गाउँपालिका -२ लघुवामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार अन्य १६ जना घाइते भएका छन। घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभएको छ ।
घाइतेहुनेहरुमा रूपन्देहीको कन्चन गाउँपालिका-५ का ३३ वर्षीय किसन श्रेष्ठ, गुल्मीको बढिघाटका १८ वर्षीय सिजन थापा, रूपन्देहीको कालीकानगर नगरपालिका-११ का ५७ वर्षीय गोविन्द थापा, गुल्मीको चन्द्रकोट गाउँपालिका-८ मजुवाका २१ वर्षीया रचना सुवेदी, सोही ठाउँका १८ वर्षीया प्रियंका काफ्ले रहेको प्रहरीले जनाएको छ ।
यस्तै, ३१ वर्षीय चन्द्रबहादुर कामी, ६ वर्षीया रिया सुवेदी, कपिलवस्तुको वाणगंगा नगरपालिका – २ का ४२ वर्षीय पिताम्बर रेश्मी, गुल्मीको सत्यवती गाउँपालिका-६ खैरनीका ३५ वर्षीय छविलाल ढकाल, सोही ठाउँका १५ वर्षीय पूजन ढकाल, नवलपरासीको कुकुरमाराका ५६ वर्षीय अम्मरे कामी, बागलुङको ढोरपाटनका ३० वर्षीय टेकलाल रसाइलि, रौतहटको वीरेन्द्र वनका २८ वर्षीय संजयकुमार ठाकुर, म्यादीको रूमा गाउँपालिका-२ का ४ वर्षीय विश्वास रोका, सोही ठाउँका ३९ वर्षीय सुमित्रा रोका, रूपन्देहीको देवदह नगरपालिका-२ का ६१ वर्षीय खड्कबहादुर विक रहेको बताइएको छ ।
घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। शव पाल्पा अस्पतालमा राखिएको छ।
बस एक्कासी सडकभन्दा करिब १०० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।