नेचासल्यानले कर्मचारीको करार अवधी नथप्ने

सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले यस अघि नियुक्त गरिएका कर्मचारीहरुको करार अवधी थप नगर्ने भएको छ। गाउँपालिका अध्यक्ष धञ्जन राईको अध्यक्षतामा शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले पञ्जिकरण शाखा, शिक्षक र विद्यालय कर्मचारी बाहेक अन्य सबै करार र ज्यालादारी कर्मचारीहरुको करार अवधी थप नगर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको कार्यालय, वडा कार्यालय, अस्पताल, स्वास्थ्य चौकी र विभिन्न कार्यक्रममा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीको साउन १ गते देखि अर्को निर्णय नभए सम्मको लागि करार अवधी थप नगर्ने निर्णय गरिएको  प्रमुख प्रशासकीय अधिकृत लवुन राई ले जानकारी दिनुभयो ।

कर्मचारीहरुको करार अवधी थप नगर्ने गाउँकार्यपालिकाको सो निर्णयमा गाउँपालिकाको वडा नं-५ का वडाध्यक्ष राजन राईले भने नोट अफ डिसेन्ट लेखेको बताईएको छ। 

नेचासल्यान गाउँपालिकाको शुक्रबार  दिउँसो बसेको गाउँसभा बैठकले आगामी आर्थिक बर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम र बिनियोजित बजेट पारित गरेको थियो । यस अघि गाउँपालिका प्रमुख नेकपा एमालेका डुफकुमार बस्तोला रहनुभएको थियो भने हालै सम्पन्न निर्वाचनमा गाउँपालिका प्रमुख र उपप्रमुखमा नेपाली काङ्ग्रेसका उमेदवार बिजयी भएका छन ।

 यस्तै निर्णय गरेको सोताङ गाउँपालिकाले भने व्यापक बिरोध भएपछी दुई दिनपछि आफ्नो निर्णय फिर्ता लिएको थियो ।

२०७४ सालको निर्वाचनपछि सोलुदुधकुण्ड नगरपालिकामा पनि करारका कर्मचारीको म्याद थप भएको थिएन । नेपाली काङ्ग्रेसबाट निर्वाचित नाम्गेल जाङ्बु शेर्पानै यसपटक पनि बिजयी भएपछि यो वर्ष कुनै निर्णय सार्वजनिक भएको छैन ।
अर्को सरकारले गरेको निर्णय विरुद्ध काम गर्नुलाइ सर्वसाधारण नागरिकले भने कार्यकर्ता भर्ती गर्ने षड्यन्त्र रहेको आरोप लगाउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार