काठमाडौं : १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको हो ।
उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिएको थियो । १२ देखि १७ बर्षसम्मका बालबालिकाले बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ ।
बुस्टर डोज लगाउन भने दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्ने परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बताउनु भयो । यसैबीच मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी पनि गरिरहेको छ।
देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ । सुरुमा २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने र त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने छ । पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाउने तयारी छ।