नेपालसँग आयोजक मलेसिया २५ रनले पराजित

काठमाडौं : आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले पराजित गरेको छ ।

मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइन् । अन्य चार खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

८७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको मलेसियाले निर्धारित ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि एलिसा हन्टरले २८ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बलिङमा नेपालकी कृतिका मरासिनीले २ तथा मनिषा कुमारी उपाध्यायले एक विकेट लिए । नेपालको विश्वकप सपना भने समाप्त भइसकेको छ । तर, नेपालले आज मलेसियालाई हराएर छनोटमा सुखद अन्त्य गरेको छ ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो। चौंथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ को विश्वकप खेल्नेछ । छनोटमा युएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार