सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले आर्थिक र शैक्षिक रुपमा सशक्तिकरण भए मात्रै सबै खाले विभेद अन्त्य हुने दावी गर्नुभएकोे छ । ११२ औँ श्रमिक नारी दिवसको अवसरमा मंगलबार सोलुदुधकुण्ड नगरपालिकाले सल्लेरीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शेर्पाले यस्तो बताउँनुभएको हो ।
विगतको तुलनामा धेरै सकरात्कम परिवर्तनहरु भएपनि अधिकारको सवालमा सबै महिला एक ठाउँमा उभिनुपर्नेमा उहाँको जोड छ । महिला अधिकारको सवालमा संविधानले धेरै कुराहरु ग्यारेन्टि गरेपनि ति अधिकारलाई व्यवहारमा लागु गर्न जात, धर्म, राजनिती केही नभनी एक ठाउँमा उभिनुको विकल्प नरहेको मेयर शेर्पाले बताउँनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी अनिल खनालले संघियतापछि महिलाहरु सशक्त रुपमा अघि बढिरहेपनि दुरदराजका महिलाहरुलाई पनि अधिकार दिलाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । संविधानमा धेरै कुराहरु उल्लेख भएपनि कतिपय अवस्थामा कार्यन्वयन फितलो पाइएकाले महिला पुरुष सबै मिलेर कार्यन्वयनको पाटोलाई जोड दिनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा जिल्ला स्थित महिला अधिकारकर्मीहरु, जनप्रीतनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।