सोलुखुम्बु : तेन्जिङ हिलारी बिमानस्थल लुक्ला नजिकैको एक सामुदायिक वनमा गयरातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले बताएका छन् ।
अत्याधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि हेलिकोप्टर झिकाइएको खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवहाक अध्यक्ष टासी ल्हमु शेर्पाले जानकारी दिनुभयो । आगो नियन्त्रण गर्नको लागि अहिले काठमान्डौबाट सिम्रीक एयरको हेलिकोप्टर उडिसकेको बताइएको छ ।
आफु काठमाडौमा भएको र आज बिहान मात्रै आगलागीको खबर प्राप्त भएकाले नियन्त्रणमा समय लागेको बताउँनुभयो ।
लुक्ला नजिकैको नक्चुङ भन्ने स्थानको वनमा लागेको आगोको धुवका कारण सोमबार बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिनुभयो ।
प्रमुख अछामीका अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि बन्द गरिएको हो । अहिले हावाका कारण धुवाँ अन्यत्र गएकाले उडान भइरहेको उहाँको भनाई छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले बताउँनुभयो । आगोका कारण सल्ला, उत्तिस लगाएतका अन्य विभिन्न प्रजातिका बोटबिरुवाहरु धेरै मात्रामा नष्ट भइसकेको बताएको छ । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ओमप्रकाश यादवले भने आगलागीको विषयमा कुनैपनि जानकारी नभएको बताउँनुभयो ।







