सोलुखुम्बु : जिल्लाका राजनीतिक दलले सबै मतदाताहरुलाई पुनः एक पटक मतदाता परिचयपत्र वितरण गर्न माग गरेका छन् । आईतबार जिल्ला निर्वाचन कार्यालय सल्लेरीमा आयोजना गरेको मतदाता नामवली अद्यावधिक सम्बन्धि एक दिने अन्तरक्रियात्मक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
परिचयपत्र हराएका मतदाताहरुका लागि वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगको निर्णय सान्र्दभिक नभएको उनीहरुको दावी छ । अघिल्लो निर्वाचनमा वितरण गरिएको परिचयपत्रको उपयोगिता बुझ्न नसक्दा धेरै जसो मतदाताहरुले जतन नगरेकाले उनीहरु सबैलाई पुनः नयाँ परिचयपत्र वितरण गर्र्न नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले माग गर्नुभयो ।
पाँच वर्ष अघि वितरण गरिएको परिचयपत्र अत्यन्त कम गुणस्तरको भएकाले अघिकांशको च्यातिएको तथा नष्ट भएकाले गुणस्तरीय परिचयपत्र दिने व्यवस्था गर्न नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरसभापति सोनाम ग्याल्जेन शेर्पाको माग छ ।
यस्तै जिल्लाको भौगोलिक अवस्था तथा समय अभावका कारण बैकल्पिक माध्यम खोज्नुपर्ने नेकपा माओवादी केन्द्र सोलुखुम्बुका कार्यालय सचिव गणेश राईले आग्रह गर्नुभयो । भौगोलिक हिसाबले जिल्लाको कतिपय ठाउँहरुबाट सदरमुकाम आईपुग्न १ देखि २ दिन सम्म लाग्ने भएकाले प्रतिलिपि लिन जिल्ला निर्वाचन कार्यालयमा नै आउनुपर्ने व्यवस्थामा पुर्नविचार गर्न सरोकारवालाको जोड छ ।
निर्वाचन कार्यालयले परिचयपत्र हराएको वा नष्ट भएको भए फागुन २० गते सम्म वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन भनेको छ ।
जिल्लामा थपिए १८ हजार बढी मतदाता
सोलुखुम्बुमा १८ हजार भन्दा बढी मतदाता थपिएका छन् । वि.स २०७४ सालको निर्वाचनको तुलनामा आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा १८ हजार ३ सय ८६ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका कर्मचारी निरकुमार मग्रातीका अनुसार ०७४ सालमा ६१ हजार ८ सय ४५ जना कुल मतदाता रहेका थिए । तर हाल जिल्लामा ८० हजार २ सय ३१ जना मतदाता रहेको कार्यालयको तथ्यांक छ । यद्यपी अद्ययवधिक हुने भने बाँकी रहेको छ ।
जस मध्ये सोलुदुधकुण्ड नगरपालिकामा १८ हजार ८२३, थुलुङ दुधकोशी गाउँपालिकामा १४ हजार ९ सय ५८, नेचासल्यानमा १० हजार ४ सय ६५, माप्यदुधकोशीमा १० हजार ४ सय ८२, महाकुलुङमा ७ हजार ७ सय ९७, सोताङमा ६ हजार ८ सय ४, लिखुपिकेमा ४ हजार ९ सय १४ र खुम्बु पासाङ ल्हामुमा ५ हजार ९ सय ८८ जना रहेको कार्यालयको तथ्यांक छ ।