सव–इन्जिनियरमाथि अभद्र व्यवहारको आरोपमा ६ जना पक्राउ

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सव–इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला लगाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुमा कार्यरत सव–इन्जिनियर पवन कुमार यादवमाथि सोमबार अभद्र व्यवहार गरेको अरोपमा उनीहरुलाई पक्राउ गरिएको सोलुखुम्बुले प्रहरीले जनाएको छ ।

घटना पछि फराहर रहेका उनीहरुलाई सदरमुकाम आसपासबाटै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक ढकालका अनुसार पक्राउ पर्नेमा २४ बर्षीय मादब राईसहित अन्य ५ जना १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु रहेका छन् । उनीहरु उपर अभद्र व्यवहार अन्र्तगत मुद्धा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य ३ जना भने फरार रहेकाले खोजी भईरहेकोे प्रहरी निरीक्षक ढकालले बताउँनुभयो ।

नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का ९ जना विद्यार्थीहरुले सोमबार दिउँसो १ बजे कार्यालय परिसरमा यादवमाथि अभद्र व्यवहार गरेको आरोप छ । जिल्लाको महाकुलुङ गाउँपालिकाको ६ वटा विद्यालय भवन पुनःनिर्माण गर्ने क्रममा सव–इन्जिनियरहरु पवन कुमार यादव र नविन कुमार सिंहले आर्थिक भ्रष्टाचार गरेको उक्त विद्यार्थी संगठनले विज्ञप्ति मार्फत दावी गरेको छ ।

हिनामिना गरेको रकम तत्काल फिर्ता गर्न पटक÷पटक ताकेता गर्दा समेत वेवास्था गरेकाले सांकेतिक कारबाही गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्वाही गर्न विभिन्न संघ संगठनको माग
कर्मचारीका विभिन्न संघ संगठनले सव–इन्जिनियरमाथी अभद्र व्यवहार गर्ने समुहलाई कारबाही गर्न माग गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला कार्य समिति सोलुखुम्बु, नेपाल निजामति कर्मचारी युनियन र नेपाल निजामति कर्मचारी संगठनले सुयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कार्यालयका सव–इन्जिनियर पवन कुमार यादवलाई जुत्ताको माला र मसो दल्ने दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा गैरकानूनी, अमानवीय र घृणित कार्यको घोर निन्दा र भत्सना गर्दे दोषीलाई कडाभन्दा कडा कानूनी कारबाहीका लागि सम्बन्धीत निकायसँग माग गरिएको छ ।

राष्ट्र सेवक कर्मचारीको ज्यूज्यानको सुरक्षाको प्रत्याभूति दिलाउँदै स्वतन्त्र र भयरहित रुपमा काम गर्ने वातावरण निर्माण गर्न पनि माग गरिएको छ । समयमा नै दोषीलाई प्रक्राउ गरि कारबाही प्रक्रिया सुरु नभए राष्ट्रसेवकहरुको सुरक्षाका लागी सम्पुर्ण ट्रेड युनियनकर्मीहरु आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।

तत्काल रिहा गर्न पार्टीको माग
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति सोलुखुम्बुले पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ । जिल्ला सेक्रेटरी निमा शेर्पाले एक विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला सदस्य एवम् सोताङ र महाकुलुङका इन्चार्ज माधव कुलुङ पक्राउ पर्नुलाई नेपाल सरकार संग गरिएको तीन बुदे सहमति विपरित हुने भएकाले तत्काल रिहा नगरे कडा प्रतिवादमा उत्रने समेत चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार