तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागेको छ : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ । २४ औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको बताउनु भएको हो ।

उहाँले कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायहरुले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको बताउनु भयो । मन्त्री खाँणले भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्शानीलाई कम गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा भूकम्पले क्षति बनाएको केही भौतिक संरचना अझै बन्न नसकेको बताउनु भयो । उहाँले महानगरले आफूसँग पर्याप्त बजेट भएको र संरचना बनाउँछु भन्दा पनि सरकारले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासो समेत गर्नु भयो ।

मेयर शाक्यले टेको लगाएर राखिएका भवनहरु वर्षा हुँदा समेत भत्किने खतरा रहेको भन्दै भवन बनाउने अनुमति दिन सरकारसँग आग्रह गर्नुभयो । मेयर शाक्यले विभिन्न आगजनीका घटनाबाट हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा दमकल सेन्टर सञ्चालन गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग नेपाल सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार