काठमाडौं :गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताउनुभएको हो ।
नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भएपनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उहाँले बताउनुभयो । नेपाली पुर्खाहरुले लगाएको गहनाहरुको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सो अनुरुपको गहना बनाइ विदेशी मुलुकमा पठाउनतर्फ ध्यान दिन उहाँले व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
गृहमन्त्री खाँणले नेपालमै गहना निर्माण गर्नाले रोजगारी बढ्ने बताउनुभयो । यसका साथै कच्चा सुन किन्दा विदेशी भुमिमा पुगेको पैसा गहना विक्रि गरेसँगै नेपाल फर्किने पनि उहाँले बताउनुभयो । उहाँले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने बताउनुभयो ।







