काठमान्डौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्नुभएको छ । आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीहरुलाई मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिनुभएको छ । ‘मन्त्रालयको शाखामा के कस्तो काम भइरहेको छन् भनेर निरीक्षण गर्न आएका हुँ’ मन्त्री पौडेलले सेवाग्राहीसँग भन्नुभयो, ‘ तपाईहरुलाई दिने सेवामा कुनै समस्या छ कि छैन ।’
मन्त्रीको प्रश्नमा सेवा ग्राहीले लामोसमय लाइनमा बसेर भएपनि काम सकेर जाने गरेको बताएका थिए । शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले सेवाग्राहीको कामका लागि राति १२ बजेसम्म पनि काम गरिरहेको बताउनुभयो ।
‘सेवाग्राहीको सेवाका लागि राति १२ बजेसम्म पनि काम गछौं,’ उपसचिव निरौलाले भन्नुभयो,‘रातको अन्तिम उडान नभएसम्म सुत्दैनौं ।’ कतिपयले अन्यबाटोबाट ‘नोअब्जेक्सन’ लेटर बनाउँदा विमानस्थलबाट फर्किएको निरौलाको भनाइ छ । सोही क्रममा मन्त्री पौडेलले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । कर्मचारी अभाव भएकाकारण सेवाग्राहीलाई तत्कालै सेवा दिन नसिकएको उपसचिव निरौलाको भनाइ छ ।
‘नो अब्जेक्सन लेटर’ अनलाइन प्रणालीमा लगेपछि ११ करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको उपसचिव निरौलाले जानकारी दिनुभयो । शाखाले अनलाइनमार्फत निवेदन प्रमाणित गरी सेवा प्रदान पनि गर्दै आइरहेको छ ।