काठमाडौं : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।
न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो । अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् ।
अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताउनुभयो । अभियानले पूर्वप्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उहाँका परिवारका सदस्यउपर पनि छानविन गरिनुपर्ने माग गरेको छ ।