काठमान्डाै : नेपाली कांग्रेसको सभापति पदका कुनैपनि उम्मेद्वारले बहमत नल्याउँदा पुनः मतदान हुने भएको छ । आज बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् ।
आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि २२५८ मत मात्र पाउँनुभयाे उहाँलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।
यस्तै, डा. शेखर कोइरालाले १ हजार ७ सय २९ र प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरूङले २० मत प्राप्त गर्नु भएको छ । आधिकारिक परिणामअनुसार ७७ मत बदर भएका छन् ।
अब पहिलो र दोस्रो बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।