सोलुखुम्बु : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आगामी केन्द्रीय कार्यसमिति सदस्यमा सोलुखुम्बुबाट १० जनाले उम्मेद्वारी दिएका छन् । शनिबार जिल्लाका नेताहरुले केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् ।
केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनेहरुमा पुर्व मन्त्री एवम् केन्द्रीय सदस्य बलबहादुर केसी, पुर्व जिल्ला पार्टी सभापति आङ्गेलु शेर्पा हुनुहुन्छ । यस्तै प्रकाश सिंह कार्की, खिलराज बस्नेत, आङछिरिङ शेर्पा, प्रभुराम बस्नेत, कुसराज राई, मनोज खड्का, धर्मराज नेपाली र छिण्डील्हमु शेर्पाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको हो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आगामी केन्द्रीय कार्यसमिति सभापतिका लागि ६ जनाले उमेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवासहित सभापतिमा ६ जनाको उमेदवारी परेको हो ।
देउवासँगै विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका हुन् । संस्थापनइतरबाट साझा उमेदवार तय गर्न रामचन्द्र पौडेलसहितका नेताहरू असफल भएपछि विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंहले छुट्टाछुट्टै उमेदवारी दिएका हुन् । खासै चर्चामा नआएका युवराज न्यौपाने गोरखाका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।