काठमान्डाै : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म निर्णय हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिसकेको छ ।
यसअघि हिजो अबेर राती रामचन्द्र पौडेल पक्षका नेताहरुको सहभागिता बिनै बसेको बन्दसत्र राति १० बजे सम्पन्न भएको छ । बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश भएकामा सबै पारित भएका छन् ।
यसैगरी बन्द सत्रमा १४ औं महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत गरिएको प्रतिवेदन पनि अनुमोदन भएको छ ।