सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला सभापतिमा तीन जनाको बीचमा प्रतिस्पर्धा हुने भएको छ । नेपालका काँग्रेसका जिल्ला सभापति बिनोदकुमार बस्नेत, नेता रामबहादुर बस्नेत र नाम्गेल जाङ्बु शेर्पा बीच सभापति पदमा प्रतिस्पर्धा हुने भएको हो ।
जिल्लामा देखिएको समुहगत रुपमा उम्मेद्वारी दर्ता भएको काँग्रेस स्रोतले जनाएको छ । वर्तमान जिल्ला सभापति बिनोद कुमार बस्नेतले पुर्व मन्त्री बलबहादुर के.सी. अर्थात रामचन्द्र पौडेल समुहबाट उम्मेद्वारी दर्ता गराउनुभएको छ भने सोलुदुधकुण्ड नगरपालिकाका मेयर समेत रहनुभएका नेता नाम्गेल जाङ्बु शेर्पाले पुर्व जिल्ला पार्टी सभापति आङ्गेलु शेर्पा अर्थात शेरबहादुर देउवा पक्षबाट उम्मेद्वारी दिनुभएको छ ।
यस्तै आङगेलु शेर्पा निकट मानिने रामबहादुर बस्नेतले पनि उम्मेद्वारी दिनुभएको छ । नेता बस्नेत आफ्नो समुह मै सर्वसम्मत सभापति बन्न नसकेपछि प्यानलरहित उम्मेद्वारी दिनुभएको हो । उहाँ १३ औँ अधिवेशन पछि पुर्वमन्त्री केसीको साथ छाडेर आङ्गेलु शेर्पाको समुहमा जानुभएको थियो ।
कुन पदमा कस्को उम्मेद्वारी ?
बिनोद कुमार बस्नेतको प्यानलबाट उपसभापतिमा थुलुङ दुधकोशी गाउँपालिका १ का वडा अध्यक्ष समेत रहनुभएका घनराज सुनुवार र फुदोर्जी शेर्पा, सचिवमा भलाकाजी कुलुङ र युवराज घिमिरे तथा सहसचिवमा ङिमछिरी शेर्पा र मान बहादुर राईले उम्मेद्वारी दिनुभएको छ ।
यस्तै नाम्गेल जाङ्बु शेर्पाको प्यानलबाट उपसभापतिमा सुर्य कुलुङ र गणेश बस्नेत, सचिवमा दावागेलु पाख्रिन र सविता राई तथा सह–सचिवमा नविन बस्नेत र उत्रमान राईले उम्मेद्वारी दिनुभएको निर्वाचन अधिकृत कैलाश गुरुङले जानकारी दिनुभयो ।
दुवै पक्षले आ–आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश सभा ‘क’ मा ४६३ जना र प्रदेश सभा ‘ख’ मा ४६१ जना गरी ९२४ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् । कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन भोली (विहिबार) सदरमुकाम सल्लेरीमा हुँदै छ ।
कुन उम्मेद्वार कस्तो ?
जिल्ला पार्टी सभापति पदका उम्मेद्वार तीनै जनाको आ–आफ्नै राजनीतिक पृष्ठभूमी रहेको छ । बिनोद कुमार बस्नेतलाई एक सालिन, भद्र र राजनीतिक संस्कार सहितको सक्षम नेताको रुपमा लिइन्छ ।
पार्टी भित्र मात्र नभइ अन्य पार्टीका नेताहरुले समेत उहाँलाई सकरात्मक रुपमा हेर्ने गरेका छन् । पार्टीमा लामो समय योगदान दिनुभएका नेता बस्नेत जिल्लामानै रहि आम नागरिकको दुखसुखमा भिजेको नेताको रुपमा हेर्ने गरेको काँग्रेसका नेता अस्बीन थापाले बताउँनुभयो ।
२०४६÷०४७ साल देखि नेपाल विद्यार्थी संघ सोलुखुम्बुको सभापति हुँदै केन्द्रीय सदस्य, पटक पटक महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य सहित एक कार्यकाल सभापतिको जिम्मेवारी समेत कुशलता पुर्वक सम्पन्न गर्ने नेताको रुपमा उहाँलाई हेर्ने गरिन्छ । विबाद रहित र सबैलाई मिलाएर लैजान सक्ने गुण भएकाले उहाँको जित सुनिश्चित रहेको बस्नेत पक्षको दाबी छ ।
यस्तै अर्का सभापति पदका उम्मेद्वार नाम्गेल जाङ्बु शेर्पा सहितको समुह पुस्तान्तरणको खाडल पुर्ने गरि अघि बढेको दावी गरिएको छ । २०५८÷०५९ साल देखि सरस्वती क्याम्पस काठमान्डौबाट नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सूरु गुर्नभएका शेर्पा तत्कालिन नेपाल विद्यार्थी संघ सगरमाथा अञ्चल समन्वय समितिको सदस्य, नेपाल विद्यार्थी संघको विद्यार्थी आन्दोलन तथा गतिवधिमा सक्रिय रुपमा संलग्न रहदै अहिले सोलुदुधकुण्ड नगरपालिकाको मेयर समेत हुनुहुन्छ ।
उहाँ पुर्वपार्टी सभापति आङगेलु शेर्पा निकट हुनुहुन्छ । उहाँलाई पार्टीका एक समुहले सकरात्मक ढंगले हेर्ने गरेको भएपनि काँग्रेसकै अर्को समुहले स्वच्छ छवि नभएको नेता रहेको आरोप लगाउँछन् । तर शेर्पा समुहले जनप्रीय नेता भएकाले जीत निश्चित भएको दावी गर्छ ।
यस्तै अर्का उम्मेद्वार काँग्रेसका नेता रामबहादुर बस्नेतले २०४२ सालको सत्याग्रहमा नौ महिना जेल जीवन विताउँने देखि पटक पटक महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा समेत रहेर काम गर्नुभएको छ । १३ औँ महाधिवेशनमा पुर्व मन्त्री बलबहादुर केसी समुहमा रहनुभएका बस्नेत त्यस यता पुर्वपार्टी सभापति आङगेलु शेर्पाको नजिकमा रहेर काँग्रेसको हरेक कार्यक्रममा सहभागि हुँदै आउनुभएको छ ।
तर १४ औँ जिल्ला अधिवेशनमा शेर्पा समुहबाट सर्वसम्मत बन्न नसक्दा प्यालनरहित सभापति पदमा उम्मेद्वारी दर्ता गरेको काँग्रेसका जिल्ला नेताहरुको भनाई छ । पार्टीभित्र लोकतान्त्रिक अभ्यास, संस्कार र इमानको राजनीति आवश्यक रहेको भन्दै उहाँ अघिल्लो पुस्तालाई सम्मान सहित स्वाभिमानी नेतृत्व स्थापित गर्नको लागि उम्मेद्वारी दिएकाले आफु बिजयी हुने दावी गर्नुहुन्छ ।
तीन जना मध्ये विनोद बस्नेतको व्यक्तिगत मत अत्यान्तै राम्रो रहेको बताइन्छ ।