काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताउनुभएको छ । बिहीवार काठमाडौँमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताउनुभएको हो ।
अघिल्लो सरकारले शुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई श्रोत खोजेर ठूलो बनाउने बताउनुभयो । मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाउनुभयो ।
उहाँले प्रदेशको नामाकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुसँग पनि छलफल गर्ने र सहयोग पु¥याउन आग्रह गर्ने बताउनुभयो । मुख्यमन्त्री राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको बताउनुभयो । उहाँले अहिले पनि नेपालमा केन्द्रिय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताउनुभयो ।
न्यूज एजेन्सी नेपालसँग कुराकानीमा मुख्यमन्त्री राईले केन्द्रिय सरकारसँग ऋण लिएर भएपनि जनहीतका काम गर्ने र बजेटको दायरालाई बिस्तार गर्ने बताउनुभयो । उहाँले बजेटमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै त्यसलाई आफ्नो कार्यकालमा नियन्त्रण गर्ने बताउनुभयो ।
मुख्यमन्त्री राईले बजेटमा खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरुले भ्रष्टाचार गरेको बताउनुभयो । उहाँले बजेटलाई सही ठाउँमा प्रयोग नभएको बताउँदै ऐन, कानून बनाएर अनियमितता गर्नेलाई कारबाही गरिने बताउनुभयो ।