काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज (मंगलबार)पनि नेपाल सर्वोच्च बार एशोसिएशनले बिरोध प्रदर्शन गरेको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै चरणवद्ध रुपमा आज तेस्रो दिनमा पनि बिरोध प्रदर्शन जारी राखेको हो ।
वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले बारको निर्णयलाई लत्याउने काम नगर्न प्रधान्यायाधीश जबरालाई चेतावनी दिनुभयो । उहाँले न्यायालय गम्भीर अवस्थामा पुग्दा समेत राजनीतिक दलहरु नबोलेको भन्दै यसप्रति राजनीतिक दलहरुले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रधानन्यायाधीश जबरा न्यायालयमा रहुन्जेल निष्पक्ष र स्वतन्त्र ढंगले न्यायालय सञ्चालन हुन नसक्ने दाबी समेत गर्नुभयो । पूर्व महान्यायाधिवक्ता श्रेष्ठले प्रधानन्यायाधीशले न्यायालय हाँक्न नसक्दा यो अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले आफ्नो पालामा न्यायाधीशले विचौलियाको काम गर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले अहिले प्रधनन्यायाधीशको राजीनामा नै कानून व्यवसायीको बटमलाइन भएको बताउनुभयो ।
उहाँले प्रधानन्यायाधीशको राजीनामा शुरुवात मात्रै भएको बताउँदै न्यायपालिका सुधारका लागि निरन्तर लागि पर्ने बताउनुभयो । वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश जबराले मन लागेका मुद्दा मन लागेका न्यायाधीशहरुलाई दिएको आरोप लगाउनुभयो । उहाँले न्यायमा निष्पक्षता नभएको बताउँदै बेन्च सेटिङले थप समस्या उत्पन्न भएको बताउनुभयो । नेपाल बारका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्याय अधोगति तिर गएको तर्क गर्नुभयो ।
उहाँले न्याय क्षेत्रमा लागेका धेरै युवा तथा विद्वानहरुले न्यायालयको कारण प्रतिभा देखाउन नपाएको बताउँदै न्याय जनता र सक्षम व्यक्तिको नेतृत्वमा हुनुपर्ने बताउनुभयो । नेपाल बारका अध्यक्ष चण्देश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराका कारण न्याय अवरुद्ध र विचलनमा रहेको आरोप लगाउनुभयो । उहाँले प्रधान्यायाधीशले पदमा बस्न कुनै अधिकार नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।