राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको छ : वरिष्ठ नेता पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताउनुभएको छ । सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताउनुभएको हो ।

संसद, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरु समेतले आफ्नो भुमिका प्रभावकारी रुपमा खेल्न नसकेको उहाँले बताउनुभयो । राजनीतिक पार्टीहरु जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरुले आफ्नो भुमिकालाई प्रभावकारी बनाउन नसकेको उहाँको भनाई छ । उहाँले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफु लागि पर्ने पनि बताउनुभयो ।

देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उहाँले बताउनुभयो । वरिष्ठ नेता पौडेलले आफुले अहिले लोकतन्त्रको एजेण्डालाई बोकेर हिडेको बताउनुभयो । वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भएपनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेको भन्दै उहाँले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चिता दिनका लागि काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले नेपालको व्यवस्था अस्थिर हुनाको बिडम्बना नेपालले भोगिरहेको बताउनुभयो । बर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उहाँको जोड छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार