काठमाडौं: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताउनुभएको छ । सोमवार नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाइ दिँदै उहाँले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताउनुभएको हो ।
उहाँले पार्टीका केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटि निर्णय भएको भन्दै डेमोक्रेटिक पार्टी नेपाली काँगेसमा अनडेमोक्रेटिक गतिविधि हुन थालेको बताउनुभयो ।
उहाँले अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आश राखेको पनि बताउनुभयो । नेता सिंहले पार्टीका केही व्यक्तिहरु पार्टी भित्र भएका अन डेमोक्रेटिक कुराहरुको बिरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताउनुभयो । नेता सिंहले केही नेताहरुले पदमा पुगेकाहरुको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको गुनासो गर्नुभयो । उहाँले १३ औँ महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरुलाई १४ औँ महाधिवेशनपछि सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो ।