नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिन अगाडि १४ औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरूबीच संवाद नै हुन सकेको छैन। आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्न पौडेल पक्षलाई सकस परेको छ।
भदौ १७ को पत्रकार सम्मेलनपछि साझा उम्मेदवार तय गर्ने विषयमा पौडेल पक्षका नेताहरूले संवाद नै गरेका छैनन्। पौडेल पक्षले गत सोमबार आफूनिकट केन्द्रीय सदस्यको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको थियो।
उम्मेदवारी घोषणा गरेका शेखरले जतिसक्दो छिटो साझा उम्मेदवार घोषणा हुने बताए। ‘हामीले जतिसक्दो चाँडो साझा उम्मेदवार घोषणा गर्छौँ’, उनले भने, ‘संवाद नभएको भन्ने होइन, हामीबीच संवाद जारी छ।’
डडेलधुरामा भएको वडा अधिवेशनले पनि यसलाई विषयान्तर गरेको उनले बताए। तर पौडेल पक्षकै नेता बलबहादुर केसीले भने भदौ १७ पछि साझा उम्मेदवार चयन गर्ने विषयमा संवाद नै नभएको बताए। ‘काठमाडौंमा हुँदा बैठकका लागि मैले समन्वय गरेको थिएँ, अहिले म काठमाडौंबाहिर छु’, उनले भने, ‘त्यसैले बैठक हुन सकेको छैन।’
पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडानबाट पछि हटेका छैनन्। उनीहरूले आआफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन्। यसले साझा उम्मेदवार तय गर्न बाधा पर्ने देखिन्छ। पौडेल पक्षका एक नेताका अनुसार सभापतिमा दोहोरिने चाहना राखेका शेरबहादुर देउवाविरुद्ध कोइराला परिवारबाट एक तथा पौडेल र सिंहमध्येबाट एक गरी दुई उम्मेदवार हुने सम्भावना छ।