गोकर्णेश्वरमा बुवाको सम्झना पिण्डदान दिइदै (फोटो फिचर)

काठमाडौं : प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाइएको छ । ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

कुशे औँशीका दिन काठमाडौंको गोकर्णेश्वरमा ठूलो मेला लाग्छ । जसकारण आजको दिनलाई गोकर्ण औँशीको नाम पनि दिइएको छ । कुशे औँशीका दिन विशेष गरेर उत्तरगयाले प्रचलित काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरु मोक्ष भइ स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ ।

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार