सोलुखुम्बु : निर्माणाधिन सोलु करिडोर १३२ केभी प्रशारण लाइन आयोजनाकोे काम पाँच वर्षमा पुरा हुन सकेन । आयोजनाको ढिलासुस्ती तथा स्थानीय संगको समन्वय एवम् सहमतीमा तदारुकता नहुँदा आयोजनाको काम अझै बाँकी रहेको हो ।
अहिले उक्त आयोजनाले छैटाँै पटक म्याद थपका लागि फायल अगाडी बढाएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिना भित्र निर्माण सम्पन्न गर्ने गरि काम सुरु गरेको आयोजनाले पुनः छैटौँ पटक म्याद थपका लागि फायल अघि बढाएको हो ।
मे २०२१ मा काम सक्ने शर्तमा पाचौँ पटक म्याद थप गरेको आयोजनाले पुनः तीन महिनाका लागि समय थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताउँनुभयो । उहाँका अनुसार जिल्लामा उत्पादित विद्युत बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएको भएपनि स्थानीयको अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।
सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भएपनि अहिले सम्म २९२ वटा मात्रै फाउण्डेसनको काम सकिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख जनार्दन गौतमका अनुसार अन्य १० वटा टावरको फाउण्डेसन निर्माण गर्ने क्षेत्रमा भने स्थानीयवासीले अवरोध गरेका छन् ।
उदयपुरको मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भएपनि स्थानीयको अवरोधका कारण काम अगाडी बढाउन नसकेको प्रमुख गौतमको भनाई छ । उनीहरुले मुअब्जाको माग गर्दै काम अगाडि बढाउन नदिएको बताइएको छ ।
यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ । बाँकी ३० किलोमिटर सोही अवरोध हुने क्षेत्र भित्रमा पर्छ । सोलुखुम्बुको पत्तालेमा २ किलोमिटर र बाँकी मरुवामानै तार टाग्न बाँकी रहेको आयोजनाले जनाएको छ । प्रशारण लाईनक्षेत्रमा मुअब्जा दिनुपर्ने स्थानीयको मागपछि तार तान्ने काम रोकिएको बताइएको छ ।
स्थानीय र आयोजनाबीचको कुरा नमिल्दा तीन महिनादेखि निर्माणको काम ठप्प बनेको छ । आयोजनाले स्थानीयको चित्त बुझाउन नसक्दा सोलुखुम्बुमा उत्पादन भएको सयौँ किलोवाट विद्युत खेर गएको छ । एक वर्ष अघिनै निर्माण सम्पन्न भएको माथिल्लो सोलु खोला जलविद्युत आयोजना २३.५ मेगावाटले अहिले ५ मेगावाट मात्रै उत्पादन गरिरहेको आयोजनाले बताएको छ । जसलाई तिङ्लमा रहेको ३३ केभी सव–स्टेशनबाट ओखलढुंगाको रुम्जाटारमा रहेको नेपाल विद्युत प्राधिकरणको सव–स्टेशनमा जोडिएको छ । यो १३२ केभी प्रशारण लाइनको बिकल्पको रुपमा प्रयोग गरिएको हो । यो संगै जिल्लालाई विद्युतको केन्द्रीय प्रशारण लाईनमा जोडिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लामा ११, ३३ र १३२ केभी सव–स्टेशन निर्माण सम्पन्न भइसकेको छ । करिब एक वर्ष अघिनै उक्त सव–स्टेशन तयार भएपनि करिडोरको काम बिलम्ब हुँदा समस्या भएको हो ।
यस्तै तल्लो सोलु खोला जलविद्युत आयोजना ८२ मेगावाट क्षमताको विद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । यता सोलु खोलामानै निर्माणाधिन अवस्थामा रहेको बेनी हाइड्रो पावर १९.५ मेगावाटको काम समेत अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताउँनुभयो ।
यी आयोजनाको काम यस अघिनै निर्माण सम्पन्न हुनेभएपनि विद्युत लाईनको काम सम्पन्न नुहँदा ढिलाई भएको संबन्धित आयोजनाको दावी छ । विद्युत निर्माण सम्पन्न भएपनि प्रशारण लाईन नहुँदा कम जनशक्तिमा काम भईरहेको तल्लो सोलुखोला जलविद्युत आयोजनाका कविराज पौडेलले बताउँनुभयो । यस्तै सोलुखोला दुधकोशी हाइड्रोपावर ८६ मेगावटको काम पनि धमाधम भईरहेको छ । सोलु खोलामा मात्रै आधादर्जन हाइड्रोपावर निर्माणाधिन अवस्थामा छ । यी आयोजना निजि क्षेत्रको लगानीमा निर्माण हुँदैछ ।
यदि आयोजना सम्पन्न हुने र प्रशारण लाइन तयार नहुने हो भने नेपाल विद्युत प्राधिकरणले ४५ प्रशित हर्जना तिर्नुपर्ने विद्युत खरिद बिक्री सम्झौतामानै उल्लेख गरिएको छ । विभिन्न बहानामा करिडोरको काम सम्पन्न नहुने हो भने सरकारलाई ठुलै घाटा हुने निश्चित छ ।