काठमाडौं : थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको भेला साँझ साँढे ५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
जसका लागि नेपाल नतिजा आफ्नो पक्षमा पार्न चाहन्छ । प्रतियोगिताको फाइनल पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा निकाल्नु पर्नेछ । नेपाली राष्ट्रिय टिममा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।
बंगलादेश भने यसअघि नै फाइनल पुगिसकेको छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको अण्डर २३ टिमलाई १–० ले हराएको थियो । नेपालले भने किर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो । प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोडेको छ ।
नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपाल बंगलादेशसँग दुई भन्दा बढी गोल अन्तरले पराजित भएको खण्डमा किर्गिस्तान फाइनल पुग्नेछ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।