प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, बैठक चल्न नदिने ओली समूहको तयारी

काठमाडौं : सत्तारुढ दलकै सांसदले अवरोध गरेपछि स्थगित भएको प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दैछ । गत माघ २५ गतेको बैठक सत्तापक्षकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।

आजको बैठक पनि नेकपा ओली समूहका सांसदले अवरोध गर्ने तयारी रहेको बताइएको छ । गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई संसदीय दलबाट निलम्बन गरिएको निर्णय सभामुख भण्डारीले कार्यान्वयन नगरेसम्म संसद चल्न नदिने ओली समूहको अडान रहेको छ ।

ओली समूहका सांसदले पार्टी औपचारिक रुपमा विभाजित नभएसम्म बैठक चल्न नदिने अडान लिएका कारण आजको बैठक चल्ने संभावना पनि न्यून रहेको बताइएको छ । यद्यपी बैठक चल्न सकेमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघिको बैठकमै मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो । नेकपाको प्रचण्ड–माधव समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये केही सांसदले भने हस्ताक्षर फिर्ता लिएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार