काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल पराजित भएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० गोल अन्तरले पराजित भएको हो । एभर्टनलाई जित दिलाउन रिचार्लिसन र गिल्फ सिगुर्डसनले एक–एक गोल गरे ।
एनफिल्डमा खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । त्यसपछि ८३ औं मिनेटमा सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै टिमलाई २–० को जित दिलाए । यससँगै एभर्टनले सन् १९९९ को सेप्टम्बरपछि पहिलो पटक लिभरपुललाई उसैको मैदानमा पराजित गरेको हो ।
यस्तै लिभरपुलले सन् १०२३ पछि पहिलो पटक घरेलु मैदानमा लगातार चार हार व्यहोरेको छ । एभर्टनसँग पराजित भएको लिभरपुलको २५ खेलबाट ४० अंक जोडेको छ । लिभरपुल लिगको छैटौं स्थानमा रहेको छ । एभर्टन २४ खेलमा ४० अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत अर्को खेलमा फुलहमले सेफिल्ड युनाईटेडलाई १–० ले पराजित गरेको छ ।