काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । बेटिसको मैदानमा गएराति भएको खेलमा एक गोलले पछि परेपनि पुनरागमन गर्दै बार्सिलोनाले जित निकालेको हो ।
३८ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काए । मैदान प्रवेश गरेको दुई मिनेटमै मेस्सीले गोल गरेका हुन् । ६८ औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २–१ ले अघि बढ्यो ।
७५ औं मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २–२ गोलको बराबरीमा फर्काएका थिए । ८७ औं मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३–२ को जित दिलाए । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बेटिस ३० अंकसहित सातौं स्थानमा रहेको छ ।