एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासललाई ३–० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई तथा बुकायो साकाले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।६० औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाए । ७७ औं मिनेटमा औबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए ।
जितसँगै १९ खेल खेलेको आर्सनल २७ अंकसहित लिगको दशौँ स्थानमा उक्लिएको छ । न्युकासल १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ । १८ खेल खेलेको म्यानचेष्टर युनाइटेड ३७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।