सोलुखुम्बु : सोलुखुम्बुको विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा रक क्लाइमिङ सेन्टर निमार्ण गरिएको छ । वडा नम्बर १ को रोयोलुङमा रक क्लाइमिङ सेन्टर निर्माण गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो ।
गत २३ गते विज्ञ सहितको टोलीले संभाव्यता अध्ययन गरि आईतबारबाट निर्माण कार्य सुरु भई सम्पन्न भएको अध्यक्ष किराँतीको भनाई छ । अन्तराष्ट्रिय माउण्टेन गाईड तथा नेपाल पर्वतारोहण पदप्रदर्शक संघका प्राविधिक प्रमुख तेण्डी शेर्पाको पहलमा विदेशी दाताबाट प्राप्त रु.३ लाख ६० हजारको सामग्री र महाकुलुङ गाउँपालिकाको रु.५ लाख लागतमा उक्त सेन्टर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उदेश्य सहित क्लाइमिङ सेन्टर निर्माण गरिएको अध्यक्ष किराँतीको भनाई छ । अब क्लाइमिङ तालिमका लागि लाखौ खर्च गरेर जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँको विश्वास छ । माघ ३ गते एक कार्यक्रमका बीच उद्घाटन गरि सञ्चालन गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
विश्वसको सर्वोच्च शिखर सगरमाथा सहितका दर्जनौ हिमाल भएको सोलुखुम्बु जिल्लामा रक क्लाइमिङ सेन्टर स्थापना भएको यो पहिलो हो । यस अघि सोलुखुम्बुका स्थानीयले काठमान्डौ लगायतको क्षेत्रमा गएर तालिम लिने गरेका थिए ।