एजेन्सी: फुटबलका हस्ती डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टेनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलकै उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ ।
हृदयघातका कारण उनको मृत्यु भएको हो । अघिल्लो महिनामात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो । दुव्र्यवसनीका कारण उनी पटक–पटक रोगसँग जुध्दै आएका थिए । अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप उनकै कप्तानीमा जितेको थियो । त्यसमा क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध गरेको दुई गोल निकै चर्चित छ ।
पहिलो उनले हेडबाट गोल गर्नेक्रममा हातले गोल गरेका थिए । जसलाई ह्यान्ड अफ गड भनेर चिनिन्छ । दोसो गोल उनले मध्यभागबाट एक्लै अगाडि बढाउँदै इंग्लिस खेलाडीहरू र गोलरक्षक पिटर सिल्टनलाई छक्काउँदै गरेका थिए, जुन विश्वकपकै उत्कृष्ट गोलमा गनिन्छ । विश्व फुटबल महासंघले सन् दुई हजारमा म्याराडोना र ब्राजिलका पेले दुवैलाई शताब्दीका उत्कृष्ट फुटबलरको उपाधिबाट पुरस्कृत गरेको थियो ।
अर्जेन्टिनी फुटबल संघले म्यारोडोनाको निधनमा गहिरो दुःख प्रकट गर्दै उनी आफुहरूको हृदयमा रहिरहने जनाएको छ । म्यारोडोनाले स्वदेशमा बोका जुनियर्स हुदैं युरोपमा बार्सिलोना, सेभिया र नेपोलीबाट क्लब फुटबल खेलेका थिए । राष्ट्रिय टोलीबाट ९१ खेलमा ३४ गोल गरेका म्याराडोनाले चार विश्वकप खेलेका थिए । अर्जेन्टिनाका राष्ट्रपति अर्बेर्टो फर्नान्डेजले म्याराडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक मनाइने घोषणा गरेका छन् ।