काठमाडौँ : युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकत्ता नाइटराइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । राजस्थान र कोलकत्ता तेस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् । राजस्थान र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मैदान उत्रदा राजस्थान लगातार तेस्रो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेलमा जित निकालेको राजस्थान ४ अंक सहित शीर्ष स्थानमा रहेको छ । स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान कोलकत्तालाई हराएर अपराजित यात्रा कायम राख्ने योजनामा समेत हुनेछ ।
राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो । दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता भने दोस्रो जितको खोजीमा हुनेछ । कोलकत्ताले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो । कोलकत्ता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा भने कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो । कोलकत्ता २ खेलमा २ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।