जनकपुरधाम : विजय रामको मृत्यू भएको प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका इन्सपेक्टरसहित तीन प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन सिंह र हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंह निलम्बनमा परेका हुन् । इन्सपेक्टर सिंहलाई प्रहरी प्रधान कार्यालय र हवल्दारद्वयलाई प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले विजय राम मृत्यू प्रकरणबारे छानबिन भइरहेकोले तत्काल उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार छानबिन पूरा नभएसम्म उनीहरूलाई निलम्बन गरिएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाले निरञ्जन रामको हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये विजय रामलाई अनुसन्धानका क्रममा जिल्लाबाट खटेको इन्सपेक्टर सिंह र हवलदारद्धयले यातना दिएका थिए । यातनापछि नेशनल मेडिकल कलेज वीरगन्जमा भर्ना भएका रामको मृत्यू भएको थियो ।
रामको मृत्यूपछि गरुडामा दैनिकजसो प्रदर्शन भइरहेको छ । दलित अगुवाहरुले रामको यातना दिने प्रहरीलाई कारबाहीको माग गर्दै आएका थिए । घटनाको छानविनका लागि छानबिन गर्न टोली गठन भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका इन्चार्ज तथा डिएसपी ज्ञानकुमार महतोलाई भने प्रदेश प्रहरी कार्यालयमा तानिएको छ । अहिले गरुडामा नयाँ डिएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ ।