मदिरा पिएर प्रहरी कुटेका आरोपीतहरु राजनितिक दबाबमा छुटे

सोलुखुम्बु : प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन् । गत आइतबार सोलु दूधकुण्ड नगरपालिका-११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलीमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेकालाई बिहीबार जनही ५/५ हजार धरौटीमा छाडिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्ध (राष्ट्र सेवकलाई कर्तव्‍य पालनामा बाधा पुर्‍याएको) कसुरमा मुद्धा दर्ता गरिएको थियो । प्रहरीले झुट्टा मुद्दा लगाएर फसाईएको भन्दै नेपाली कांग्रेस सोलुखुम्बुले धर्ना तथा नारा जुलुससमेत गरेको थियो ।

पक्राउ परेको भोलिपल्टैदेखि प्रहरी प्रशासनलाई दबाब दिइरहेको समूहले उनीहरूलाई खादा मालासहित घर लगेका थिए । धर्ना तथा जुलुसमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत, सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा सहितको उपस्थिति थियो ।

मेयरसहितको टोलीले घर पुर्‍यायो

सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले नगरपालिकाको बा१झ ९७९४ नम्बरको गाडीमा उनीहरुलाई घरसम्म पुर्‍याउन गएका थिए । सरकारी गाडीमा सवार शेर्पा सबैभन्दा अगाडि थिए भने कांग्रेस समर्थित अन्य करिब ६० जनाभन्दा बढीको समूह मोटरसाइकल तथा अन्य सार्वजनिक गाडीमा थिए। रिहा भएका युवाहरु चाहि बाइकमा सवार थिए । प्रत्यक्षदर्शीका अनुसार आरोपित छुटिसकेपछि पनि प्रशासन अगाडि धर्नामा रहेका मेयर सहितको टोलीले नेकपा प्रहरी मूर्दावाद लगायतको नारा लगाउँदै हिँडेका थिए ।

घटनास्थलमा एउटा भनाई जुलसमा अर्कै !

तरुणदल वडा समितिले कोरोना महामारी तथा विकास निर्माणको विषयमा बैठक सम्पन्न गरी स्थानीय सन्तोष खड्काको जेठा छोराको जन्मदिनमा सहभागी भएको बेला प्रहरीले पक्राउ गरेको नेपाली कांग्रेस सोलुखुम्बुको दाबी छ ।

सोही दिन वडा कार्यालयमा नेकपा समर्थित युवा संघको समेत कार्यक्रम भएकाले उनीहरूको इसारामा प्रहरीले तरुणदलका नेता कार्यकर्तालाई पक्राउ गरी झुट्ठा मुद्दा दर्ता गरिएको भन्दै उनीहरूले विज्ञप्तिसहित नाराजुलस गरेका हुन् । शान्तिपूर्ण ढंगले जन्मोत्सव मनाइरहँदा प्रहरीले पक्राउ गरेको सन्तोष खड्काकी श्रीमती सर्मिला बस्नेत ९खड्का०ले बताउँनुभयो ।

सल्लेरीमा आयोजित जुलुससभामा बोल्दै उहाँले प्रहरीमाथि हातपात भएको भन्ने दाबी गलत भएको भन्दै एक्कासि प्रक्राउ गरेर ल्याएको जिकिर गरिन् । यता, सोलुखुम्बु प्रहरीले भने स्थानीयले होहल्ला भएको सूचना दिएपछि प्रहरी टोलीले सम्झाउन जाँदा प्रहरी टोलिमाथि नै हातपात भएको दाबी गर्छ । प्रहरी टोली पुगेको बेला सन्तोष खड्काकी श्रीमती सर्मिला बस्नेत ९खड्का०ले समेत नाचगान भइरहेको बेला प्रहरी आएको र झगडा भएको बताएको भिडियोसमेत सार्वजनिक भएको छ ।

उक्त भिडियोमै उनले, ‘मसमेत ढलेँ, मेरो चुरासेत फुटेछ’ भनेको सुनिन्छ । यता, विद्यालय तथा वडा कार्यालयको तथ्यांकअनुसार भदौ ७ गते जन्म दिन मनाइएको बालकको जन्ममिति भने २०७२ वैशाख ७ रहेको छ । यसरी हेर्दा पनि घटनाको वास्तविकता र दाबी गरिएको भनाइहरू फरक परेको प्रष्ट हुन्छ । सोमबार १० दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले बुधबार मुद्दा बुझायो भने बिहीबार धरौटीमा छाड्न आदेश भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार