सोलुखुम्बु : खोटाङबाट ज्यान मार्ने उद्योगमा संलग्न फरार प्रतिबादी करिब २४ वर्षपछि पक्राउ परेका छन् । २०५३ साल भदौ १२ गते साविकको दिप्सुङ र राखाबांदेलको सिमाना (हाल केपीलासगढी गाउँपालिका वडा नम्बर ६ दिप्सुङ र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल) मा पर्ने बाहाने भन्ने ठाउँमा भएको ज्यान मार्ने उद्योगको घट्नामा संलग्न दिप्सुङकै ५४ वर्षीय प्रतिवादी युवराज राईलाई खोटाङ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत खोटाङबाट २०६५ साल चैत ३ गते ७ वर्ष कैद सजाय हुने फैसला भएका प्रतिबादी राईलाई दिप्सुङकै बिसुदु जंगलबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए । अभियुक्त राईलाई बिहिबार जिल्ला अदालतमा पेश गरिएको र तत्काल कैद भुक्तानका लागि कारागार पठाएको डिएसपी चिमोरियाको भनाई छ ।
पछिल्लो दुई हप्तामा सवारी ज्यान मुद्धाका दुई जना र जबरजस्ती करणी मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । अदालतमा पेश गरिएका ती तीनैजनालाई कैद भुक्तानका लागि कारागार पठाइ सकिएको भन्दै डिएसपी चिमोरियाले फरार अभियुक्तको खोजि कार्यलाई तिव्रता दिइएको बताए ।