सोलुदुधकुण्ड नगरपालिका उपमेयर र प्रबक्ता बीच हात हालाहाल

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका उपमेयर कल्पना राई र प्रबक्ता सारदा माया तामाङ बीच कार्यपालिका बैठकमै हात हालाहाल भएको छ । आज (मंगलबार) नगर कार्यपालिका बैठक चलिरहेको बेला नगर प्रबक्ता सारदा माया तामाङले गालीगलौज संगै एक्कासी आफुमाथि हातपात गरेको उपमेयर कल्पना राईको आरोप छ ।

कार्यपालिकाको बैठकमा एजेन्डा प्रस्तुत गर्दै गर्दा उपमेयर राई माथी एक्कासी हातपात भएको प्रत्यक्षदर्शी एक कार्यपालिका सदस्यले बताउँनुभयो । उहाँले भन्नुभयो, “उपमेयर ज्यूले संयमित भएर बोल्न आग्रह गर्दा गर्दै प्रबक्ता ज्यूले एक्कासी हात हाल्नुभयो, अनि कार्यपालिका बैठकनै प्रभावित भयो ।”

हातपातबाट टाउँको तथा अनुहारमा असर परेको उपमेयर राईको भनाई छ । उहाँको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको वडा नम्बर ६ का वडा अध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लक डाउनका बेला विभिन्न क्षेत्रबाट नागरिकको उद्धार गरिएको बिषयमा उपमेयर राई र नगरपालिकाको तर्फबाट प्रबक्ता तामाङले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्नुभएको थियो । उपमेयर राईले आफ्नो पहलमा सबै नागरिकको उद्धार गरेको र सहयोग गर्ने सबैलाई धन्यवाद दिएको विज्ञप्ती जारी गरिएको थियो भने नगरपालिकाको तर्फबाट प्रबक्ता तामाङले उपमेयर राईले उद्धारमा कुनै पनि भुमिका निर्वाह नगरी जस लिन खोजेको आरोप लगाईएको थियो ।

नगरकार्यपालिका बैठक चलिरहेको बेला उपमेयर राईले नगरपालिकाको प्रबक्ता बन्नु पर्नेमा मेयरको मात्रै जस्तो देखिएको बताएपछि एक्कासी हातपात गरेको वडा नम्बर ६ का वडा अध्यक्ष राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यता नगर कार्यपालिका सदस्य सारदा माया तामाङ संग यस बिषयमा बुझ्न खोज्दा टेलिफोन गर्दा सम्पर्क हुन सकेन । हातपात गर्ने प्रबक्ता तामाङ प्रहरीको नियन्त्रणमा रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार