जातीय विभेदको आरोपमा तिङ्लाकी एक महिला पक्राउ

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लामै पहिलोपटक जातीय विभेद गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका मिनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा स्थानीय संगिता राईलाई पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

जिल्ला अदालत सोलुखुम्बुको आदेश अनुसार बुधबार राईलाई पक्राउ गरि अनुशन्धान अगाडी बढाएको प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । तिङलाको भदौरेमा हिड्दै गरेको अवस्थामा गत शनिबार जातीय विभेद गरेको भन्दै मिनबहादुरले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा संगितालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मिनबहादुरको जाहेरीमा ‘सार्वजनिक बाटोमा मेरो अगाडी हिड्छस्, तँ दमाई, भनेर ढुंगाले हिर्काउदै लखेटेको’उल्लेख गरिएको छ । प्रहरीका अनुसार जातीय छुवाछुतको उजुरी दर्ता भएको जिल्लाको पहिलो घटना हो । विगतमा अन्य गाउँठाउँमा यस्ता घटना घट्ने गरेको भएपनि डरत्रासको कारण बाहिर आउन सनसकेको सरोकारवालाको भनाई छ । नेपालको संविधान २०७३ को भाग ३ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकबारे प्रष्ट उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार