पुनःनिर्माण अध्ययनकाे लागि स्थानीय तहमा सामाजिक परिचालक खटाइने

काठमाडौं : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान लिएर हालसम्म पनि बनाउन शुरु नभएका घरका विषयमा अध्ययन गर्न प्रभावित जिल्लाका स्थानीय तहमा सामाजिक परिचालक खटाउने भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनामा सदाचार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित ३२ जिल्लामा ९८८ दक्ष निर्माणकर्मी पनि खटाउन लागिएको जानकारी दिनुभयो ।

“शहरी क्षेत्रको पुनःनिर्माण ग्रामीण भेगको तुलनामा ढिलो भएको छ, शहरी क्षेत्रमा टेको लगाएर राखिएका घरका सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गरेर किन बनेन भनी खोजी गर्ने तयारीमा प्राधिकरण छ, जनताको घर किन बनेन भनी खोज्नु जनप्रतिनिधिको पनि दायित्व हो”, उहाँले भन्नुभयो ।

शहरी क्षेत्रमा बहुस्वामित्वका घरका बारेमा कार्यविधि ल्याएर समस्याको समाधान गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । वसन्तपुर दरबार क्षेत्रको वृहत्तर गुरुयोजना निर्माण गरी प्रहरी कार्यालय, सेनाका केही संरचना र विद्यालय गाभेर खुला ठाउँको व्यवस्था गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार