काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। शुक्रबार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
नेपालमा कृषिसम्बन्धि अध्ययन÷अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाई गलत भएको भन्दै मन्त्री भुसालले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिए। सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषि सम्बन्धि अध्ययन गराउने कलेजहरु प्रयाप्त नभएको भन्दै जिज्ञासा राख्नुभएको थियो।
जवाफमा मन्त्री भुसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सहि नभएको तर विश्वविद्यालय र कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताउनुभयो। बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भुसालको भनाई छ।
मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताए। प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री भुसालले बताउनुभयो।