काठमाडौं : कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो ।
त्यसमा पनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनजस्ता सम्बन्धित संस्थामा अनियमितता र कर्मचारीको आन्दोलनले काममा नकारात्मक असर पारेको हुन्थ्यो । राजनीतिक स्थिरता र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको व्यवस्थापन सुधारसँगै आगामी शैक्षिक सत्रका लागि आउँदो चैत मसान्तभित्र पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरण भइसक्ने भएको छ ।
पाठ्यपुस्तक छपाइको प्रगति अवस्था बुझ्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको मन्त्रालयको टोलीलाई केन्द्रले यस वर्ष समयमै पाठ्यपुस्तक उपलब्ध हुने विश्वास दिलाएको हो । सोही लक्ष्यका साथ आवश्यक मेशिन र कागजको प्रबन्ध गरी काम भइरहेको केन्द्रको व्यवस्थापन पक्षले अवगत गराएको छ ।
केन्द्रले आगामी शैक्षिक सत्रका लागि कक्षा २ देखि ४ सम्मका एक करोड ७५ लाख पाँच हजार ८०० थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिएकामा हालसम्म शतप्रतिशत छपाइ गरेको छ । कक्षा ५ देखि १० सम्मका दुई करोड ७२ लाख तीन हजार ४१४ थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकामा हालसम्म ९७ लाख थान उत्पादन भई ४६ दशमलव प्रगति भएको छ ।
सरकारले माध्यमिक तहसम्मको पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने दायित्वअन्तर्गत त्यसको रकम सम्बन्धित स्थानीय तहमा निकासा गर्छ भने पाठ्यपुस्तक उत्पादन र वितरणका लागि जनक शिक्षा सामग्री केन्द्र तथा निजी क्षेत्रका मुद्रणलाई जिम्मेवारी दिइएको छ । सरकारले आधारभूत तहको पाठ्यपुस्तकको गुणस्तर वृद्धि गरी रङ्गीन पाठ्यपुस्तक छपाइ गर्न दिएको निर्देशनबमोजिम ‘उड फ्रि’ कागजमा रङ्गीन पाठ्यपुस्तक छपाइ भइरहेको छ ।
प्रवक्ता चित्र आचार्यका अनुसार पाठ्यपुस्तक भण्डारण गर्न थप नौ गोदाम बनाइएको र रु १५ करोडको अत्याधूनिक चार रङ्गको ३२ पेज छपाइ गर्ने दुई वेभ मेशिन र एक चार रङ्गको छपाइ गर्ने जापानी मेशिन खरिद गरेको छ । उक्त मेशिनले दु्रत गतिमा छपाइ गरिरहेको जनाइएको छ । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक यसअघि नै रङ्गीन छापिन थालेका थिए ।
आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक पर्ने पाठयपुस्तकमध्ये कक्षा २ देखि ५ सम्म र कक्षा ९ र १० का पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरणका लागि केन्द्रका नौ कार्यालयका गोदाममा भण्डारण गरिएको छ । नेपाल सरकारको राष्ट्रिय नीतिअनुरुप विगत ६५ वर्षदेखि केन्द्रले विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।